कोरोना संक्रमित १२ जनालाई कोरोना अस्पताल विराटनगर पुर्याइयो
कोरोना संक्रमित १२ जनालाई कोरोना अस्पताल विराटनगर पुर्याइयो
६ वैशाख २०७६ काठमाडौं : माहामारीको रुप लिइरहेको कोरोना संक्रमणले नेपालमा पनि त्रास सिर्जना गर्न सुरु गरेको बेला उदयपुरको मस्जिदमा फेला परेका १२ कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।
शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक भएको पाइएको छ ।
संक्रमित १२ जनालाई कोशी अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । संक्रमित सँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण सुक्रबार पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।
