कोरोनाको रिपोर्ट कुर्दाकुर्दै निमोनियाले मृत्यु

कोरोनाको रिपोर्ट कुर्दाकुर्दै निमोनियाले मृत्यु

१८ चैत २०७६ काठमाडौं : बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइयो ।

त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव दिए । उनी चैत १३ गते साँझ ई-रिक्सा चढेर लुम्बिनी प्रादेशिक अस्पताल पुगे ।

अस्पतालमा ज्वरो स्क्रिनिङ गरेपछि कोरोनाको आशंका गर्दै सिधै बुटबलको धागो कारखाना पठाइदियो । उनी धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पताल भर्ना भए ।

अस्पताल भर्ना भएको चार दिनपछि उनको मृत्यु भयो ।

मृत्युको कारण अस्पतालले खुलाएन । बरु, प्रेस विज्ञप्ती जारी गर्दै उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जानकारी दियो ।

मृत्यु भएको भोलिपल्ट उनमा कोरोना संक्रमण नभएको रिपोर्ट आयो ।

यो घटना नजिकबाट नियालिरहेका लुम्बिनी प्रादेशिक अस्पतालका एक चिकित्सक भन्छन्, ‘सरकारले बनाएको कोरोना विशेष अस्पताल निमोनियाको बिरामी मार्ने धराप साबित हुनेभयो । निमोनियाको बिरामीलाई कोरोना भन्दै उपचार गर्नुपर्ने अस्पतालबाट अस्थायी अस्पतालमा पठाइएकाले बाबुरामले अकालमा ज्यान गुमाए ।’

कोरोनाको रिपोर्ट ढिलो आउँदा…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनाल बाबुरामलाई निमोनियाका लक्षणहरु देखा परेको ‘क्लिनिकल डायग्नोसिस’मा देखिन्छ । तर, कोरोना संक्रमण फैलिएको दुबईबाट फर्किएकै कारण उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएन । यही गल्तीका कारण बाबुरामले निमोनियाको आवश्यक उपचार नै पाएनन् ।

निमोनियाका जटिल बिरामीहरूको उपचारका लागि भेण्टिलेटर अत्यावश्यक मानिन्छ । सामान्यतः बिरामीको अवस्था खराब भयो भने आईसीयूमा राख्नुपर्छ । तर, बाबुराम भर्ना भएको कोरोना अस्पतालमा भेण्टिलेटर र सामान्य आइसीयू शैय्यासमेत जडान गरिएको छैन । अवस्था नाजुक भइसक्दा पनि उनलाई उपचार सम्भव हुने आइसीयू भएको अस्पतालमा रिफरसमेत गरिएन ।

सामान्यतया चिकित्सकहरुले आफ्नो अस्पतालको स्रोत र साधनले नभ्याएको अवस्थामा अन्य अस्पतालमा बिरामी रिफर गर्नुपर्छ । तर, कोरोना अस्पतालले बाबुरामलाई पाँच किलोमिटर नजिकैको दुरीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लगेन । त्यहीँ उनलाई निमोनियाको औषधि चलाइयो । तर, त्यो औषधिले काम गरेन । श्वासप्रश्वासमा झन् समस्या आयो ।

तर, पनि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएन ।

किन त ?

मेसु खनाल भन्छन्, ‘यसमा चिकित्सककोभन्दा म्यानेजमेन्टको दोष भयो । आईसीयू चाहिने भएपछि एम्बुलेन्स बोलायौं । तर, यो केसको बिरामी बोक्न कुनै एम्बुलेन्स तयार भएन । बिरामीका आफन्तलाई बोलाउँदा पनि समयमा अस्पतालमा आएनन् ।’

मेसु खनालकाअनुसार कोरोनाको रिपोर्ट आउन ढिलो भएका कारण पनि उनको उपचार राम्रो भएन । एकदिन अगाडि मात्रै रिपोर्ट आएको भए उनलाई आईएसीयू भएको अस्पतालमा लगेर उपचार गर्न सकिन्थ्यो । रिपोर्ट ढिलो आएका कारण चिकित्सकहरुले ढुक्क मानेर उपचार गर्न सकेनन्।

उनले भने, ‘त्यही अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको भए अन्य बिरामीको भागाभाग हुन्थ्यो । रिपोर्ट नआइकन आइसीयू भएको अस्पतालमा लान व्यवहारिक रुपमा पनि सम्भव थिएन ।’

प्रयोशालामा नमुना पठाउन किन ढिलो ?

दुबईबाट आएदेखि नै ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएका बाबुरामको नेपाल छिरेको १२ औ दिनमा मृत्यु भयो । १३ गते अस्पताल भर्ना भएका उनको १६ गते बिहान मात्र टेकुस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइयो ।

यसले के प्रष्ट पार्छ भने कोरोनाको आशंकामा विशेष अस्पतालमा भर्ना गरेपनि उनको आवश्यक उपचार गरिएको थिएन ।

मेसु खनालका अनुसार नमुना झिक्ने र ल्याबमा पठाउनका लागि केन्द्रसँग समन्वय गर्नुपर्छ । तर, अनुकूल समय नमिलेकाले ‘स्वाब’ पठाउन समयमै सकिएन । एकजना मात्रै बिरामीको स्याम्पल पठाउने व्यवस्था नभएकाले पनि ढिलो भयो । उनी भन्छन्, ‘हामीले त उपचार गरेकै हो, अन्य ठाउँबाट समन्वय नगरेपछि कसको के लाग्छ र ?’

बाबुरामको मृत्युको घटना नियालिरहेका लुम्बिनी प्रादेशिक अस्पतालका अर्का एक चिकित्सक भन्छन्, ‘बाबुरामको मृत्युको कारण निमोनियाको उपचार समयमै नभएर हो । कोरोनाको रिपोर्ट समयमै आएको भए या कोरोना विशेष अस्पतालमा आईसीयू सेवा उपलब्ध भएको भए उनलाई बचाउन सकिन्थ्यो ।’

त्यही अस्पतालका अर्का चिकित्सक थप्छन्, ‘अहिले कोरोनाको आशंकामा अस्पतालमा राखिएका र मृत्युपछि रिपोर्ट नेगेटिभ आएका जे-जति मानिसहरुको मृत्यु भएको छ, उनीहरु निमोनियाका कारणले मरेका हुन सक्छन् । उनीहरुलाई आइसीयूसहितको अस्पतालमा उपचार गराएको भए बचाउन सकिन्थ्यो । या त रिपोर्ट चाँडो आएको भए उनीहरुले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो ।’

उनी आत्मविश्वासपूर्वक सुनाउँछन्, ‘कोरोनाको आशंकामा सुविधासम्पन्न अस्पतालमा भर्ना भएर रिपोर्ट नआइकन मृत्यु हुनेहरु पनि राम्रो उपचार नपाइकन मरेका हुन् सक्छन् । किनकि, उनीहरुको रिपोर्ट नआइकन ढुक्क भएर चिकित्सकले उपचार गराउन पाउँदैनन् ।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ