कोरोना भाइरसबाट विश्वभरि २४ हजार ७० को मृत्यु, इटाली र स्पेन र अमेरिकामा भयावह स्थिति
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ७० को मृत्यु, इटाली र स्पेन र अमेरिकामा भयावह स्थिति
१४ चैत २०७६ जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट सुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ७० जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पांच लाख ३१ हजार ६८५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा एक लाख २३ हजार ९२८ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ८३ हजार ६८७ व्यक्ति हाल उपचारारत छन् ।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण आठ हजार २१५ जनाको मृत्यु भएको छ । कुल ८० हजार ५८९ जना सङक्रमित रहेका छन् । दस हजार ३६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ४ हजार ३६५ जनाको मृत्यु भएको छ । हाल ५७ हजार ७८६ जना सङक्रमित रहेकोमा बिहीबार प्राप्त एक समाचारका अनुसार सात हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ८१ हजार २८५ जना सङ्क्रमित फेला परेकोमा ३ हजार २९२ जनाको मृत्यु भएको छ भने सुक्रबार सम्म ७४ हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
यता संयुक्तराज्य अमेरिकामा बुलेट ट्रेनको गतिमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार २९३ जनाको मृत्यु भएको छ । हाल ८५ हजार २६८ जना सङक्रमित रहेकोमा १८६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३१ व्यक्तिको मृत्यु भएको छ । नौ हजार २४१ सङ्क्रमित भएका छन् । हालसम्म चार हजार १४४ उपचारपछि निको भएर घर फर्किएका छन् ।
बिहीबारसम्म सङ्क्रमित भेटिएका तर मृत्यु डर सुन्य रहेका देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् ।(रासस/एपी/सिन्ह्वा/एएफपी)
