समाचार

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट

२८ फागुन २०७६ काठमाडौं : पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो । बम बिस्फोट रिमोटबाट गराइएको प्रहरीले आशंका गरेको छ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि बमले क्षति पुगेको छ । बमले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि बमले फुटेको छ । साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्षतिग्रस्त भएको छ ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।