राजनितीसमाचार

गच्छदारको फैसला अदालतले गर्नेछ: गगन थापा

गच्छदारको फैसला अदालतले गर्नेछ: गगन थापा

२४ माघ २०७६ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले बालुवाटारस्थित् ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्दा दायर गरेको विषयमा आफ्ना नेता बिजय गछेद्र मुछिएपछी आफ्नो धारणा सार्वजनिक गरेका छन् । अख्तियारले यो प्रकरणमा जोडिएका एक ७५ जनाविरुद्ध हिजोमात्रै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसको भोलिपल्ट नेता थापाले वालुवाटार जग्गा प्रकरणमा मेरो धारणा शीर्षकमा आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

बिहीबार साँझ फेशबुक पेजमा थापाले यो प्रकरणमा निर्दोषलाई दण्डित गर्न नहुने र दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । उनले भनेका छन्, “निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न र दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न।पात्र, परिस्थिति र सम्बन्ध हेरेर हाम्रो धारणा बन्दैन, बदलिँदैन र बदल्नुहुँदैन भन्नेमा म प्रस्ट छु।”

हेरौं यस प्रकरणमा गगन थापाले सार्वजनिक गरेको धारणा जस्ताको त्यस्तै :

वालुवाटार जग्गा प्रकरणमा सन्दर्भमा:

१. नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेको छ।उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले गर्नेछ।सम्मानित अदालतले गर्ने निर्णय सवैले मान्नुपर्दछ।

२. सार्वजनिक सम्पत्ति बदनियत पूर्ण रूपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन सक्दैन।यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने, उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्। कानूनको अपव्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दुरासयपूर्ण छ।

३. सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने र सोको लागि अनेकन् प्रपञ्च रच्ने व्यक्ति नवीन पौडेल (नेकपा नेता विष्णु पौडेलको छोरा) र कुमार रेग्मीलाई ’आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले’ भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ । यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार दिएको छ।

अतः सम्मानित अदालतले यस प्रकरणमा अनुसन्धानले समेट्नुपर्ने तर नसमेटेका विषयलाई समेत दृष्टिगत गरी सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा नपरी संलग्न व्यक्तिहरूको पहुँच, अवस्था, आस्था र विचार नहेरी फैसला गर्नेछ भन्ने विश्वास छ।