चीनमा कोरोना भाइरसबाट ३६१ जनाको मृत्यु
चीनमा कोरोना भाइरसबाट ३६१ जनाको मृत्यु
२० माघ २०७६ चिन: नोवेल कोरोना भाइरसले महामारीको रुप लिँदै गएको छ । चीनमा यसबाट अहिलेसम्म ३६१ को मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारका लागि सातामा एक हजार शैयाको अस्पताल चीनले निर्माण गरेको छ ।
८ दिनमा निर्माण सम्पन्न भएको अस्पताललाई सुविधा सम्पन्न बनाइएको चीनका अधिकारीले बताएका छन् । यस्तै १३ सय शैयाको अर्को अस्पताल पनि द्रूत गतिमा निर्माण भइरहेको छ । गएको डिसेम्बरमा हुबेइ प्रान्तको वुहानमा देखिएको नोवेल कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका विभिन्न देशमा फैलिएको छ ।
कोरोनाबाट चीनमा मात्रै १७ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । चीन बाहिर नेपालसहितका देशमा गरी १५० जना भन्दा बढी संक्रमित भएका छन् । यस्तै आइतबार पहिलो पटक चीन बाहिर एकजनाको मृत्यु भएको छ । चीनको वुहानका ४४ वर्षका व्यक्तिको फिलिपिन्समा मृत्यु भएको हो ।