राजनितीसमाचार

कांग्रेसमा गुटबन्दीको पाराकास्टा: नेविसंघका नेताहरूबीच पार्टी कार्यालयमै झडप

कांग्रेसमा गुटबन्दीको पाराकास्टा: नेविसंघका नेताहरूबीच पार्टी कार्यालयमै झडप

१३ माघ २०७६ काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघका नेताहरूबीच पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार झडप भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्यालय पुग्नु हुँदा त्यहाँ नेता कुन्दनराज काफ्ले समर्थक विद्यार्थीहरू अनसनमा थिए ।

सभापति देउवासँगै नेविसंघका नेता मनोज वैद्यको नेतृत्वमा आएको विद्यार्थीको समूह पनि पार्टी कार्यालय पुगेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरका मानिने नेविसंघका केही नेताहरु ४१ दिनदेखि नेविसंघको नेतृत्व ३२ बर्ष मुनिबाट चयन गर्नुपर्ने लगायतका मागहरु राख्दै रिले अनशन बस्दै आइरहेका छन । रिलेअनशनमा बसेका विद्यार्थीहरुले सभापति देउवा विरुद्ध नाराबाजी गरेपछि दुइपक्षविच केहीबेर झडप भएको हो । झडपमा २ जना विद्यार्थी नेता घाइते समेत भए ।

दुवै पक्षबीच भनाभान हुनुका साथै सभापति देउवासँग आएका विद्यार्थीले अनसनमा बस्दै आएका कुन्दनराज काफ्लेसहितका नेताहरूमाथि हात गरेको आरोप पीडित विद्यार्थीको छ ।

दुई पक्षबीच भएको झडपको भिडियोसमेत सार्वजनिक भएको छ ।

यस्तो थियो कारण

नेविसंघ नेतृत्वविहिन भएको १ बर्ष बितिसक्यो । यही विवादकै कारण पार्टीले समेत नेतृत्व चुन्न नसक्दा गत माघमा नेविसंघका तत्कालिन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । त्यस यता यस विषयले पार्टीको केन्द्रिय समितिको बैठकमा समेत पटक–पटक कुरा उठेपनि नेताहरुमा भागबण्डा नमिलेका कारण सहमती हुन सकेको थिएन ।

गत शुक्रबार सभापति देउवा निवासमा सभापति देउवासहित बरिष्ठ नेता पौडेल र सिटौलाबीच नेविसंघको तदर्थ समिति बनाउने सहमती भएको थियो । सहमति अनुसार देउवाले आफू निकट राजिव ढुं्गानालाई तर्दथ समितिको नेतृत्व दिने तयारी गरे । ढुंगाना करिब ५० वर्षका नेता हुन् । तर नेविसंघको विधानमा ३२ वर्षभन्दा माथिकालाई नेविसंघमा ल्याउन नपाइने उल्लेख छ । पार्टी नेतृत्व विधान विपरित गएपछि असन्तुष्ट पक्षले नेतृत्वलाई खबरदारी गरेको हो । खबरदारी गर्ने कुन्दनराज काफ्ले र नेतृत्वले जे गरे पनि ठिकै हो भन्ने पक्षबीचको लडाइले उग्र रुप लिएको हो । काफ्ले पक्षधन विद्यार्थी नेताहरुले ३२ बर्षे उमेरहद लागु नभए आत्मदाह गर्ने सम्मको चेतावनी दिएका छन ।