राजनितीसमाचार

वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा

वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा

५ माघ २०७६ काठमाडौं : नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

झापाका खरेललाई ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट विगामको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । जतिबेला महाप्रवन्धक सुगतरत्न कंशाकार कार्यकारी भूमिकामै थिए । त्यसबेला खरेल र कंसाकारबीच बिबाद सुरु भएको थियो ।

नियुक्ति गर्दाका बखात खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो ।

निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि आधारभूत काम गर्नपर्ने जिम्मेवारीसमेत उनलाई थियो ।

तर एक वर्षसम्म प्रभावकारी काम गर्न नसकेपनि उनीमाथि प्रश्न उठ्न थालेको थियो । त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका थिए ।

खरेलले यसअघि २०७० साल जेठमा पनि चार वर्षका लागि महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो ।