ट्रक साहित्यमा रोक
ट्रक साहित्यमा रोक
२१ पुस २०७६ काठमाडौँ : नेपाल सरकारको यातायात तथा सवारीसाधनहरूको नियामक निकाय यातायात व्यवस्था विभागले अब देखि सवारी साधनका विभिन्न भागमा स्लोगन, कोटेसन वा कविता राख्न नपाइने भनेको छ ।
सवारी साधनले वर्षौंदेखि लेख्दै आइरहेका यस्ता सामग्रीहरू यातायात व्यवस्था विभागले हटाउन लागेको हो ।
अबदेखि ट्रकलगायतमा सवारीमा लेखिएका घत लाग्दा हरफ अब मेटिनेछन् भने नयाँ सवारीले पुरानो सवारी साधनको सिको गरेमा कारबाहीकाे भागिदार बन्नुपर्ने यातायात व्यवस्था बिभागले जनाएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी साधनका पछाडि लेखिएका सिर्जनाले दुर्घटना निम्त्याउन भूमिका खेलेको भन्दै हटाउने अभियान थालिएको बताएका छन् ।
हमालका अनुसार, मोटरसाइकलदेखि सबै किसिमका सवारी साधनका पछाडि लेखिएका सामग्री मेट्न एक महिनाको समय दिइएको छ । यदि कसैले अटेरी गरेर यो अवधिभित्र लेखिएको सामग्री नहटाएमा कारबाही थालिने उनले बताए । ‘सबैलाई जानकारी नभएकाले हामीले सूचना जारी गरेर १ महिनाभित्र हटाउन भनेका छौं’, हमालले भने, ‘यो अवधिपछि पनि कसैले अटेर गर्छ भने ट्राफिक प्रहरीसँग समन्वय गरेर कारबाहीको दायरामा ल्याउनेछौं ।’
यस्ता सवारीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उनले बताए ।
हाल देशभित्र लाखौं सवारीसाधन दर्ता भएका छन् । दर्ता भएका सवारीसाधनमध्ये ट्रक, ट्रिपर, ट्यांकर र बसमा रोचक र घोचक सामग्री लेखेको पाइन्छ ।