आईएसले ११ जनाको घाँटी रेटेर हत्या गरेपछि…!!!
१२ पुस २०७६ काठमाडौं : विश्व आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसका नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको केहि समय भित्र यो घटना भएको छ। आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना दुइ नेता मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ ।
आईएसले एक भिडियो सार्वजनिक गर्दै ११ जनाको हत्या गरेको जानकारी दिएको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् यो भिडियो सार्वजनिक गरेको हो। ५६ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ भने बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ ।
हत्या गरिएकाहरु सबै नाइजेरियालि पुरुष हुन् । यद्यपि उनीहरुको परिचय भने खुलेको छैन । आईएसका अनुसार उनीहरुलाई नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो ।
गत २६ अक्टुबरमा अमेरिकी विशेष फौजको कारबाहीमा आईएस नेता अल बगदादीको मृत्यु भएको थियो ।