नेपाली मुद्रा मोरु बारे केहि रोचक जानकारी !
नेपाली मुद्रा मोरु बारे केहि रोचक जानकारी !
काठमाडौं, लिच्छवीकालिन राजा मानदेवका समयबाट नेपालमा सर्वप्रथम मुद्राको प्रचलन भएको इतिहास छ । मानदेवले प्रचलनमा ल्याएको मुद्रालाई मानांक भनिन्थ्यो। पछि अन्य राजाहरु अंशुवर्मा, नरेन्द्रदेव लगायतले पनि यो मुद्राको प्रचलनलाई निरन्तरता दिदै लागे। मुद्रा प्रचलनको सुरुवातमा यसलाई माटो तथा छालाबाट बनाइन्थ्यो तर पछि यसमा सुधाल्याएका मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याएका थिए जुन मुद्रालाई “महिन्द्र मल्ली” भनिन्थ्यो । नेपालमा कागजी नोटको सुरुवात वि.सं. २००२ मा मात्र भएको थियो ।
नेपाल राष्ट्र बैंक स्थापना पश्च्यात पहिलो गभर्नर हिमालय शमसेर जबरा भएपनि नेपालको पहिलो कागजी नोटमा उनको हस्ताक्षर देख्न भने पाइने छैन नेपाल राष्ट्र बैंकको सुरुवात भन्दा ११ बर्ष पहिला देखिनै कागजी नोट प्रचलनमा आएका थिए र त्यसताका पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने व्यक्ति जनकराज पण्डित थिए । उनी नेपाल सरकार सदर मुलुकी खानाका खजाञ्ची थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ ।
२०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने यहाँ समानान्तर रूपमा भारु(भारतीय रुपैया) चल्थ्यो ।
नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो । नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले तीन जना खजाञ्चीहरू जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराजका समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्कासन भयो । नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो भने यसलाई २०१७ साल वैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो ।
वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्कासन भयो । २०१७ साल वैशाख १ गते १०० भारुको विनिमयदर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो । विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.स. २०२३ बाट पूर्ण रूपमा कार्यान्वयन पछि नेपालभर नेपाली रूपैयाँ मात्र कानुनी रूपमा ग्राह्य हुने व्यवस्था भएको हो ।नेपाल राष्ट्र बैंक मार्फत छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।