देशराजनितीसमाचार

गोप्य रुपमा भारतीय दूतावास छिर्ने सशस्त्रका डिआइजीलाइ कारबाही

गोप्य रुपमा भारतीय दूतावास छिर्ने सशस्त्रका डिआइजीलाइ कारबाही

२६ मङ्सिर २०७६ काठमाडौँ : गत ६ मङ्सिरमा कूटनीतिक आचारसंहिता विपरीत गोप्य रूपमा भारतीय दूतावास प्रवेश गरेका नेपाल प्रहरी सशस्त्र प्रहरी बलका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ ।

डिआइजी श्रेष्ठ अनुमति नलिई ६ मंसिरमा बा.२.झ. २३९० नम्बरको सरकारी गाडी चढेर उनी लैनचौरस्थित भारतीय दूतावास प्रवेश गरेका थिए ।

सशस्त्र प्रहरी बलले उनीसँग स्पष्टीकरण सोधेपछि डिआइजी श्रेष्ठले तालिमसम्बन्धी विषयमा छलफल गर्न दूतावास गएको बताएपनि उनले कुनैपनि निकायबाट अनुमति भने लिएका थिएनन् । कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग भेट्न सम्बन्धित मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनि ब्यबस्था छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा स्पस्ट रुपमा, ‘सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने’ उल्लेख गरिएको छ । अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, डिआइजी श्रेष्ठ दूतावास गएकोबारे सशस्त्र प्रहरी मुख्यालयलाई नै जानकारी गराएका थिएनन् । डिआइजी श्रेष्ठ सशस्त्र प्रहरीको कमान्ड एन्ड स्टाफ कलेजमा कार्यरत छन् ।