पशुपती कोटिहोममा डा. कान्ता भट्टराई र देवी चन्द्रकला सखीले कथा बाचन गर्ने
१५ साउन २०८१: साउन एक गतेबाट पशुपति परिसरमा सुरुभएको ऐतिहासिक कोटिहोम महायज्ञमा डा. कान्ता भट्टराईले श्रीमद् देवी भागवत कथा तथा देवी चन्द्रकला सखीले श्री राम कथा बाचन गर्नु हुने भएको छ । श्रावण १६ गते देखि श्रावण २४ गते सम्म डा. भट्टराई तथा देवी चन्द्रकला सखीले कथा बाचन गर्न लग्नु भएको हो । डा. भट्टराईले पशुपति परिसरको हँशमण्डपमा विहान ९ बजे देखि दिउँसो १२ बजे सम्म तथा दिउँसो २ बजे देखि साझ ७ बजे सम्म देवी चन्द्रकला सखीज्यूको मुखारविन्दबाट श्री राम कथा बाचन गर्ने तालिका रहेको आयोजकले जानकारी दिएका छन।
साउन एक गते बाट सुरु भएको श्री कोटिहोम महिनाभर रहने छ । पशुपति परिशरमा लागेको ऐतिहासिक कोटिहोम मानव सेवा फाउण्डेशनले आयोजना गरेको हो ।
‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्रको हंसमण्डपमा सञ्चालनमा छ ।
महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गरिसकेका छन् भने श्री राम कथावाचक चन्द्रकला सखी ले १६ गतेबाट बाचन सुरु गर्ने छिन ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना भएको व्यवस्थापक गिरीले बताउनुभयो । मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ८३ जना अभिभावक विहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमावुवाले आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।
मानव सेवा फाउण्डेशन सहित विजय कृष्णमूर्ति जी महाराज फाउण्डेशन, मामाघर अनाथालय सर्पोट एण्ड केयर सेन्टर, छोरीको घर ज्येष्ठ नागरिक आश्रम, हिन्दु सेना नेपाल, डोनेट फर नेपाल, मामाघर परोपकार तथा सेवा आश्रम, माइतीघर ज्येष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र, पञ्चकन्या धाम एवं गाइघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, स्वधर्म परिवार नेपाल लगाएतका संस्था महायज्ञको आयोजक रहेका छन् ।
पशुपति क्षेत्र विकास कोषसंग पूर्ण सहकार्य गरेर आयोजना गरिएको कोटिहोममा क्षेत्र विकास कोषका भवन तथा संरचना प्रयोग गरेबापत आयोजकले कोषलाई भाडा समेत तिरेको जानेको छ ।