Breakingसमाचार

अदालतले निषेधाज्ञा नदिएपछि प्रहरीको तिब्र खोजीमा युट्युबर सन्जिब रेग्मी

२८ भदौ २०७८ काठमाडौँ : आफूलाई पत्रकार बताउने युट्युबर सञ्जिव रेग्मीले आफूलाई पक्राउ नगराउन उच्च अदालतबाट निषेधाज्ञा नपाउने भएका छन् । विभिन्न व्यक्तिहरुलाई मानहानीदेखि अभद्र व्यवहारसम्म गरेका रेग्मी विरुद्ध दर्जनौ उजुरी परेपछि प्रहरीबाट पक्राउ नपर्न निषेधाज्ञाको आदेश लिन उच्च अदालत पाटन पुगेका रेग्मीको निषेधाज्ञाले निरन्तरता नपाउने भएको हो ।

बुधबार उच्च अदालतका न्यायाधीश इश्वरराज आचार्य र मिना गौतम सेढाईंको संयुक्त इजलासले युट्युबर रेग्मीलाई निषेधाज्ञाको आदेश दिन नपर्ने आदेश गरेसँगै लुक्दै हिडेका रेग्मीलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । विभिन्न व्यक्तिका विरुद्ध नाटकीय पात्र बनाएर अतिरञ्जित भिडियो बनाउदै ‘प्रतिष्ठित व्यक्तिहरुलाई समाजमा नंग्याउने अभियान’ चलाएका रेग्मीलाई प्रहरीले खोजीको उच्च निगरानीमा राखेको छ ।

रेग्मी विरुद्ध गत भदौ १९ गते शान्ति बस्नेत थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्तिसुरक्षा पाउनको लागि निवेदन दिएको थिइन् । उक्त निवेदनपछि रेग्मीलाई प्रहरीले पटक पटक सम्पर्कमा आउन आग्रह गरेको थियो ।

प्रहरी र प्रशासनमा छलफलको लागि जानुको सट्टा रेग्मी निषेधाज्ञाको आदेश लिएर भाग्दै हिडेका थिए । उच्च अदालतले रेग्मीलाई अल्पकालिन अन्तरिम आदेश दिने कि नदिने भन्नेमा छलफल गर्न ३० गतेलाई बोलाएको थियो । उक्त बोलावटमा शान्ति बस्नेत थापाको समूह नै उपस्थित भए पनि रेग्मीले भने वारेस मात्र पठाएका थिए ।

न्यायाधीशद्वय आचार्य र सेढाईंले दुबै पक्षको बहस सुनी रेग्मीलाई अन्तरिम आदेश दिइरहन नपर्ने आदेश जारी गरेका छन् । यससँगै बुधबार महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरमा रेग्मी विरुद्ध जाहेरी दर्ता भएको छ । रेग्मीबाट पीडित थापाले उनी विरुद्ध अभद्र व्यवहारको जाहेरी दर्ता गरेकी हुन् । रेग्मी विरुद्धको दर्ता नं. १४८ रहेको छ ।

युट्युबर रेग्मीका विरुद्ध पीडित व्यक्तिहरुले प्रेस काउन्सिल नेपाल, साईबर ब्युरो, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्जनौं मुद्धाहरु दर्ता गरेका छन् । उनले विभिन्न व्यक्तिहरुलाई प्रयोग गरेर प्रेस काउन्सिलको नक्कली हाकिम बनाएर प्रहरी कार्यालयमा दबाबमुलक फोन गर्ने गरेको समेत थाहा भएको छ ।

हेडलाइन नेपाल नामक युट्युबको सञ्चालक रहेका रेग्मी विभिन्न माध्यमबाट परिचालित भइ उनलाई परिचालन गर्ने व्यक्तिले बदनाम गर्न चाहेका व्यक्तिहरुका विरुद्ध भिडियो बनाएर अपलोड गर्दै आएका थिए । रेग्मीमाथि व्यक्तिका विरुद्ध प्रायोजित अभियानकर्ताको आरोप समेत लाग्ने गरेको छ ।

उनको अन्तरवार्ता लिने कार्यालय रहेको बुद्धनगरका छिमेकी र घरधनी समेत उनको व्यवहारबाट आजित भएको बताइएको छ । घरधनीले उनलाई उक्त घर खाली गर्न पटक पटक आग्रह गरेपनि उनी अटेर गेरर बसेको समेत स्थानीयहरुले बताएका छन् ।