मल आपूर्ति नगर्ने दुई कम्पनीको सम्झौता खारेज, कालो सूचीमा राख्ने तयारी
मल आपूर्ति नगर्ने दुई कम्पनीको सम्झौता खारेज, कालो सूचीमा राख्ने तयारी
२२ भदौ २०७७ काठमाडौँ : युरिया मल ल्याउने कबुल गरी ठेक्का हात पारेका ठेकेदार कम्पनीले मल ल्याउन नसकेपछि सरकारको कारबाहीमा परेका छन् । धरौटी बापत राखेको दुई वटै कम्पनीको नौ करोड ४५ लाख ११ हजार ४१९ रुपियाँ जमानत रकम जफत गर्ने निर्णय सरकारले गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडको आजको बैठक अनुसार मल ल्याउने ठेक्का लिएका शारदाप्रसाद अधिकारी नेतृत्वको शैलुङ इन्टरप्राइजेज प्रा.लि. र हुमनाथ कोइराला नेतृत्वको होनिका मल्टिपल प्रा.लि. लाई कारबाही गर्ने निर्णय गरेको हो ।
शैलुङले धरोटीबाफत चार करोड ८८ लाख ४९ हजार ४४ रुपियाँ र होनिकाले चार करोड ५६ लाख ६२ हजार ३७५ रुपियाँ राखेका थिए । प्रा.लि.ले गरेको कबुलअनुसार काम गर्न नसकेपछि प्रचलित कानुन, सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार धरौटी जफत गर्ने निर्णय भएको सरकारले भनेको छ । सम्झौताअनुसार २०७७ साउन ७ गतेभित्र कबोलअनुसारको युरिया मल प्रा.लि.ले ल्याइसक्नुपर्ने थियो । तर २५ दिनको म्याद थप गर्दासमेत भाद्र २० गतेसम्म पनि मल ल्याउन नसकेपछि कम्पनीले सो निर्णय गरेको बताएको छ ।
दुवै कम्पनीले २५–२५ हजार मेट्रिक टन युरिया मल ल्याउने कबोल गरेका थिए । कम्पनीले दुवै प्रा.लि. सँग सम्झौता रद्द गरी क्षतिपूर्ति र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने पत्रमार्फत जानकारी गराएको छ । कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुषालले ठेक्का लिएका दुवै कम्पनीले कबोल गरेको मल ल्याउन नसकेपछि सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल सापटी ल्याउने प्रक्रियामा गएको बताउनुभयो । पन्ध्र दिनभित्र मल नेपाल आईपुग्ने उहाँले बताउनुभयो ।
नेपालमा आइपुग्नेबित्तिकै युरिया मल सोझै गाउँपालिकामा जाने उहाँले प्रष्ट पार्नुभयो । अब आउने दिनमा त्यस्तो मलको हाहाकार नहुने गरी व्यवस्थापनको काम मन्त्रालयले गरेको मन्त्री भुषालले प्रष्ट पार्नुभयो । ठेक्का लिएर आपूर्तिमा लापरवाही गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने निर्णय भएको मन्त्री भुषालले जानकारी दिनुभयो । जसरी पनि ठेक्का पार्न कोसिस गर्ने तर काम नगर्ने ठेकेदारलाई कारबाही आवश्यक रहेको भन्दै मन्त्री भुषालले आफू मन्त्री भएपछि ठेकेदारको धरौटी जफत गरेको दोस्रोपटक भएको जानकारी दिनुभयो । काम नगर्ने जोकोही ठेकेदारलाई कानुनअनुसार कारबाही गरिने उहाँले प्रष्ट पार्नुभयो ।