राजनितीसमाज

कमिसन वापतको पाँच लाख लिँदै गरेको अवस्थामा कल्याणपुर नगर प्रमुखका छोरा मण्डल पक्राउ

कमिसन वापतको पाँच लाख लिँदै गरेको अवस्थामा कल्याणपुर नगर प्रमुखका छोरा मण्डल पक्राउ

३१ असार २०७७ लहान: कमिसनवापत्को नगद पाँच लाख रुपियाँ लिँदै गरेको अवस्थामा बुधबार सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुखका छोरा सन्तकुमार मण्डल पक्राउ परेका छन् ।

लहान नगरपालिका–२२ स्थित राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा रकम लेनदेन गरिरहेको अवस्थामा कल्याणपुर नगरपालिकाका नगर प्रमुख छोरा सन्तकुमार मण्डललाई बर्दिबासबाट खटिएको अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । मण्डलका साथमा अर्का सहयोगी जितेन्द्र मण्डल पनि पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

कल्याणपुरका नगर प्रमुख सूर्यनाथ मण्डलले डिपिआरवापत् सेवाग्राहीसँग माग गरेको कमिसनवापत् पाँच लाख रुपियाँ लिन छोरालाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोलीको आरोप रहेको छ ।