राजनिती

छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय

छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय

२५ असार २०७७ काठमाडौँ : सरकारले कोभिड १९ को संक्रमण नियन्त्रण गर्ने उद्देश्यले यसअघि गरेको सवारी सञ्चालन सम्बन्धी व्यवस्थामा हेरफेर गरेको छ । मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले गत जेठ २८ र असार १५ मा गरिएको आदेशको व्यवस्थामा हेरफेर गरेको हो ।

सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राखेर स्वास्थ्य मापदण्ड पूरा गरी छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

सरकारले ट्याक्सी पनि चलाउन दिने निर्णय गरेको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइएको छ ।

ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र चलाउनुपर्नेछ ।निजी सवारीको हकमा जोरविजोर कायमै रहेको र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । सार्वजनिक यातायात सञ्चालकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी यातायात सञ्चालन गर्न सक्ने प्रवक्ता डाक्टर खतिवडाले जानकारी दिनुभयो ।

सिट क्षमताको बढीको ५० प्रतिशत यात्रु राखी सञ्चालन हुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडामा थप बढीमा ५० प्रतिशत भाडा लिन पाउने निर्णय भएको छ । तर, ट्याक्सीले भने अतिरिक्त भाडा लिन पाउने छैनन् । यसैगरी, स्वास्थ्य मापदण्ड पूरा गरी उद्योग प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

तर, लामो दुरीका सार्वजनिक यातायातका साधन भने अझै सञ्चालन गर्न पाइने छैन ।यसैगरी, सरकारले विभिन्न आयोजनाका लागि विश्व बैक समूह र एशियाली बैकबाट करिव ७७ अर्ब रुपैया ऋण सहायता लिने निर्णय पनि गरेको मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।