सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो
सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो
२३ असार २०७७ काठमाडौं : नेपाली भुमिलाइ लिएर बिबादास्पद टिप्पणी दिएकी समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।
सरिता गिरी भन्छिन्– ममाथि षडयन्त्र भयो, अदालत जान्छु
समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अदालत जाने बताएकी छन् । आफूलाई पार्टीले षडयन्त्र गरेर पदबाट हटाएको गिरीको गुनासो छ ।
समाजवादी पार्टीले मंगलबार कारवाही गर्ने निर्णय गरेलगत्तै उनले भनिन्, ‘अनुशासनको कारवाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, यो अवैधानिक निर्णयलाई अदालतबाट चुनौति दिन्छु ।’
भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको निशान छाप बनाउन गरिएको संविधान संशोधनका लागि संसदमा भएको मतदान गिरीले बहिस्कार गरेकी थिइन् । पार्टी निर्णय विपरीत उनले संविधान संशोधन विधेयकविरुद्ध संशोधन दर्ता गरेकी थिइन् ।
त्यसपछि पार्टी ह्विप उल्लंघन गरेको भन्दै उनलाई समाजवादी पार्टीको संसदीय दलले कारवाहीको सिफारिस गर्यो । समाजवादीका महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले पनि गिरीलाई कारवाहीको सिफारिस गरेको थियो ।