अन्तरास्ट्रियसमाचार

जनमत संग्रह आफ्नो पक्षमा पार्दै पुटिन अब सन् २०३६ सम्म राष्ट्रपति रहन पाउने

जनमत संग्रह आफ्नो पक्षमा पार्दै पुटिन अब सन् २०३६ सम्म राष्ट्रपति रहन पाउने

१९ असार २०७७ मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने बाटो खुलेको छ । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।

पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर जनमतसंग्रहमा बहुमत ल्याएसँगै उनी थप दुई कार्यकालका लागि राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।

रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलव ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमतसंग्रह आह्वान गरेका थिए । जसमा राष्ट्रपतिको कार्यकालसहित अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरू समावेश गरिएको छ ।

यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसद्को अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । समलिंगी विवाहलाई राष्ट्रपतिले प्रतिबन्ध लगाउन सक्ने तथा मजदुरको न्यूनतम ज्याला एवं निवृत्तिभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई पनि जनमतसंग्रहले अनुमोदन गरेको छ ।

रुसका दुवै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् । तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनताबाट अनुमोदन गराउन चाहेको भन्दै जनमतसंग्रह गराएका हुन् ।

पुटिनका प्रखर आलोचक एलेक्सी नाभाल्नीले जनमतसंग्रहको मतपरिणामप्रति आश्वस्त हुन नसकिने बताएका छन् ।