बलात्कार मुद्दामा महिलाले बयान फेर्दा युवकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला
बलात्कार मुद्दामा महिलाले बयान फेर्दा युवकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला
१९ असार २०७७ चितवन : बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले ति महिलालाइ एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । १२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जबर्जस्ती करणीको उद्योग नगरेको र घटनास्थल भनिएको होटेलमा आफूहरू नगएको भनी जाहेरी बेहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन् ।
सुरुमा युवतीले आफूलाई प्रतिवादी युवकले बलात्कार गरेको भनी किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । प्रहरीमा बलात्कार भएको भनी दिएको बयान अदालतमा पुगेपछि होइन भनी बयान दिएपछि अदालतले बयान फेरेकै आधारमा उनलाई कैद सजाय सुनाएको हो ।
घटनास्थलमा गएको अवस्था पुष्टि भएको र निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रतिवादीले आफूलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रका आधारमा प्रतिवादीलाई सफाइ दिने जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
युवतीका साथमा गएका अन्य दुई जनाले भने जाहेरवाली र प्रतिवादी होटेलको कोठामा गई लामो समयसम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनी अदालतमा बकपत्र गरेका थिए । आरोपित युवकले समेत आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएका थिए ।
अदालतको फैसलासँगै अब ती युवतीले एक महिना कैद र प्रतिवादीलाई ६३ हजार क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । प्रतिवादी युवक सात महिनादेखि अदालतको आदेशपछि जेलमा बसेको र प्रतिदिन ३ सय रुपैयाँको दरले हुन आउने बराबरको रकम उनलाई क्षतिपूर्ति भराउन अदालतले फैसला जारी गरेको आजको राजधानी दैनिकमा खवर छ ।