देशसमाचार

भारतबाट थप सलह नआए सहजै नियन्त्रण, क्षति गर्ने संभावना कम

भारतबाट थप सलह नआए सहजै नियन्त्रण, क्षति गर्ने संभावना कम

१३ असार २०७७ काठमाडौँ : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिवार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यस पछि दिनभर उनीहरु यसबारे छलफलमा जुटे ।

मनसुनी वर्षाका कारण सलह कीराको बथान साना साना टुक्रामा विभाजित भएको र हावाको बेग उत्तरी–पश्चिमबाट पूर्वतिर गएको हुनाले यो नेपालमा छिरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ किट वैज्ञानिक डा.सुनिल आर्यालले बताउनुभयो ।

अहिलको अवस्थामा नेपालमा यो कीरा नदेखिनु पर्ने हो तर अचानक देखियो, यसको नमूना ल्याएर ल्याब परीक्षण गरेपछि मात्र त्यसको सही विश्लेषण गर्न सकिने उहाँले बताउनुभयो । भारत र पाकिस्तानसँग बुझ्दा यो सलह कीरा नै हो भनेका छन्, तर यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले वर्षका कारण ठूला झुण्डमा रहेका सलह कीरा विभाजन भएका छन् र त्यसको सानो टुक्रा नेपाल छिरेको छ ।

भारतबाट अझै छिर्यो भने यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ, अहिले आएका जति नै रह्यो भने त्यसलाई सजिलै नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । सचिव भारीले भारतबाट अझै आएन भने नेपालमा यो बढ्ने सम्भावना धेरै कम छ किनभने यसले नेपालमा फुल पार्न सक्दैन, फुल पार्नका लागि मरुभूमी नै चाहिन्छ, त्यसैले अहिले त्यसलाई नियन्त्रण गर्न त्यति गाह्रो नहुने बताउनुभयो ।

सानो सानो झुण्डमा भएको र एक ठाउँमा मात्र नबसेको कारण यसले क्षति गर्ने सम्भावना कम रहेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं सलह कीरा बारे अध्ययन गर्न बनेको समितिका संयोजक सहदेव हुमागाईंले बताउनुभयो । भारतबाट अझै भित्रियो भने बालीमा क्षति गर्न सक्छ तर अहिलेसम्म कहि क्षति गरेको नदेखिएको उहाँले बताउनुभयो । नेपालको मौसमका कारण यो सलह कीरा एक ठाउँमा बस्नसक्दैन, र क्षति गर्ने सम्भावना पनि हुँदैन तर जुन रुपमा अचानक प्रवेश गर्यो, त्यसको हिसाबले यसबाट सतर्क रहने अवस्था रहेको उहाँले बताउनुभयो ।