Breakingअन्तरास्ट्रियसमाचार

नेपाल–भारत सम्बन्ध इतिहासमै खराब : भारतीय राष्ट्रिय कांग्रेस

नेपाल–भारत सम्बन्ध इतिहासमै खराब : भारतीय राष्ट्रिय कांग्रेस

३२ जेठ २०७७ नयाँदिल्ली : नेपालले लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ राजनीतिक नक्सा निसान छापमा राख्न संविधान संशोधन विधेयक संसद्बाट पारित गरेको सन्दर्भमा भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले दुई देशबीचको सम्बन्ध इतिहासमै खराब भएको उल्लेख छ ।

नेपालको संसद्ले शनिबार सर्वसम्मतिले संशोधन विधेयक पारित गरेपछि साँझपख कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दु:खद दिन हो । भाजपाले नेपाल र भारतको सम्बन्ध बिगारेर इतिहासमै खराब स्थिति सिर्जना गरेको छ। ’

कांग्रेसले नेपाल र भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार रहेको आरोप लगाएको छ । ‘आफूलाई बलियो नेतृत्व दाबी गर्ने भाजपाको नेतृत्वले राष्ट्रिय हित रक्षा गर्ने मामिलामा सुतुरमुर्गको जस्तो व्यवहार देखाएको छ,’ सुर्जेवालाले भनेका छन् । कंग्रेसले टेलिभिजनका भ्रामक युद्धले परिपक्व राजनीतिक नेतृत्वको पूर्ति गर्न नसक्ने पनि दाबी गरेको छ ।