कांग्रेसका सांसदले दर्ता गरेको संविधान संशोधन विधेयक प्रति पार्टीनै बेखबर
कांग्रेसका सांसदले दर्ता गरेको संविधान संशोधन विधेयक प्रति पार्टीनै बेखबर
२० जेठ २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केहि सांसदले संविधान संशोधन विधेयक मंगलबार साझ संसद सचिवालयमा दर्ता गराए ।
नेपाली कांग्रेसका प्रतिनिधि सांसद प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्य्मनारायण चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
दर्ता गर्ने सांसद मध्येका एक सांसदले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको उनीहरुले बताएका थिए।
कांग्रेस सांसदहरुले गैरसकारी विधेयकका रुपमा दर्ता गराएको संशोधन विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने प्रस्ताव छन् ।
मंगलबार नै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गर्न खोजेको थियो । तर, विधेयकको फर्म्याट नमिलेको भन्दै संघीय संसद सचिवालयले फकाईदिएको छ ।
सोमबार मात्र राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेका थिए ।
पार्टी निर्णय विपरितको संशोधन विधेयक दर्ता !
कांग्रेसको शनिबार बसेको बैठकले सरकारले ल्याएको नक्सासम्बन्धी संशोधनमा मतदान गर्ने निर्णय गरेको थियो । साथै पार्टी सभापति शेरबहादुर देउवा सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।
तर आइतबार कांग्रेस सांसदहरुले संशोधन दर्ता गर्दा संसदीय दल नै बेखबर थियो । प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाललाई समेत खबर थिएन ।
सांसद अमरेशकुमार सिंहले विधेयक दर्ता गर्दा पार्टीसँग सल्लाह नभएको घुमाउरो ढङ्गले स्वीकार गरेका छन् । ‘केन्द्रीय कार्यसमितिको निर्णय छ, त्यही अनुसार संविधान संशोधन विधेयक दर्ता गरेका हौं । केन्दि्रय समितिभन्दा माथि को छ’ उनले भनेका छन् ।
स्रोतकाअनुसार उपसभापति विमलेन्द्र निधिसँग परामर्श गरेर सांसदहरु संशोधन विधेयक दर्ता गर्न पुगेका हुन् । र, सांसद प्रदीप गिरिलाई अगाडि सारेका थिए ।
कांग्रेस सांसदहरुले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकमा देउवा सरकारको पालामा दर्ता भएको संशोधनमा दुई बुँदा थप भएको पाइएको छ ।
संसद अमरेशकुमार सिंहले भने, ‘हामीले विगतमा ल्याएको विधेयकमा केही थपेका छौं । मुख्य कुरा राज्यको सम्पूर्ण अगंमा समानुपातिक समावेशी भन्ने छ । आयोगहरु र कूटनीतिक निकायसहित सबैतिर समानुपातिक समावेशी आवश्यक छ ।’
सीमान्तकृत समुदायको महिलाहरु महिला आरक्षणबाट आउन नसकेका कारण यसलाई संविधानमै राख्न प्रस्ताव गरिएका कांग्रेस सांसदहरुले बताएका छन् ।
अरु विषय भने पुरानै छन् । नेपालमा बिहे गरेर आउने विदेशी महिलालाई सम्बन्धित देशको नागरिकता त्याग गरेको जानकारी गराएपछि वैवाहिक अंगीकृत नागरिकता दिने, जनसंख्या र भूगोलको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व कायम गर्नुपर्ने, प्रदेशको सीमांकन हेरेफेर आयोग गठन लगायतमा विषय संशोधन विधेयकमा परेको छ ।
