कोरोनाभाइरसदेशसमाचार

प्रदेश १का कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?

प्रदेश १ का कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?

१६ जेठ २०७७ विराटनगर : झापाको कचनाकवलमा थप २५ जनामा कोरोना संक्रमण देखिएसंगै प्रदेश १ मा कुल संक्रमित को संख्या १२९ पुगेको छ ।

प्रदेश १ मै सबैभन्दा बढी संक्रमित कचनाकवलकै छन् । भारतको मुम्बईलगायत स्थानबाट घर फर्केका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । सुरुमा एक युवकमा संक्रमण पुष्टि भएपछि अरूको पनि परीक्षण गरिएको थियो । क्वारेन्टाइनमा राखिएका अरू व्यक्तिको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

कुल १४ जिल्ला रहेको प्रदेश १ मा पछिल्लो पटक सोलुखुम्बुमा एक संक्रमित भेटिएपछि यहाँ संक्रमण फैलिएका जिल्ला ८ वटा पुगेका छन् ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार झापामा ७७, उदयपुर ३३, धनकुटा ७, मोरङ ६, सुनसरीमा ३, खोटाङ, भोजपुर र सोलुखुम्बुमा १-१ जना संक्रमित पुष्टि भएका हुन् ।

संक्रमित अधिकांश भारतबाट आएका व्यक्ति हुन् । केही स्थानीयमा पनि संक्रमण देखिएको छ । उनीहरूमा कसरी संक्रमण भयो भन्नेबारे अध्ययन भइरहेको जनाइएको छ ।

संक्रमितका परिवार र उनीहरूसँग सम्पर्क भएकाहरूको खोजी गरी परीक्षणको काम पनि भइरहेको प्रदेश सरकारले जनाएको छ ।

उदयपुरका संक्रमित ३३ मध्ये २७ जना उपचारपछि डिस्चार्ज गरिएका छन् । यस्तै झापाका दुई जना र भोजपुरका एक जना पनि उपचारपछि डिस्चार्ज भएको प्रदेश सरकारले जनाएको छ ।

संक्रमितमध्ये उदयपुरका ६, खोटाङका एक, झापाका ७५, धनकुटाका ७ जना चिकित्सकको निगरानीमा उपचाररत छन् ।