समाचार

गुगलमा नेपालको नयाँ क्षेत्रफल परिवर्तन

गुगलमा नेपालको नयाँ क्षेत्रफल परिवर्तन

१५ जेठ २०७७ काठमाडौँ : नेपालले आफ्नो नयाँ आधिकारिक नक्सा सार्वजनिक गरेसंगै गुगलले नेपालको नयाँ क्षेत्रफल देखाउन सुरु गरेको छ ।

नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल परिवर्तन गरेको हो ।

गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ । यस अघि गुगलले नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर मात्र देखाउने गरेको थियो।

नेपालले २०७७ साल जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी थिइन् ।

नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको थियो ।

नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो । गुगलले देखाएको उक्त क्षेत्रफल विकीपिडियाको हो ।