प्रहरीसँगको भीडन्तमा ६ राउण्ड गोलि लागि ढलेका थिए लागुऔषध कारोबारी
प्रहरीसँगको भीडन्तमा ६ राउण्ड गोलि लागि ढलेका थिए लागुऔषध कारोबारी
१२ जेठ २०७७ जलेश्वर : महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका -७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर -७ निवासी १६ वर्षीय राजन यादव रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीले घटनामा लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ ।
जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो ।
चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र आत्मरक्षाका लागि गोली चलाउँदा राजनको घटनास्थलमै मृत्यु भएको प्रहरीको दावी छ । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।
सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ ।
सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।रासस