देशसमाचार

भ्रष्टाचारीलाई अब १४ वर्ष सम्म कैद !

भ्रष्टाचारीलाई अब १४ वर्ष सम्म कैद !

९ जेठ २०७७ काठमाडौँ : नेपाल सरकारले अब भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कैद सजाय गर्ने कानुनको खाका तयार गरेको छ । ‍जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्था उल्ट्याएर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा १० करोड रुपैयाँभन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि १४ वर्ष जेल हाल्ने कानुन बनाउन सहमति जुटेको हो ।

सहमतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म भ्रष्टाचार गरेमा ८ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्म भ्रष्टाचार गरे ६ देखि ८ वर्ष, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म भ्रष्टाचार गरे ४ देखि ६ वर्षसम्म, ५ लाखदेखि २५ लाख रुपैयाँसम्म भ्रष्टाचार गरे २ देखि ४ वर्षसम्म, १ लाखदेखि ५ लाख रुपैयाँसम्म भ्रष्टाचार गरेमा १ देखि २ वर्षसम्म र ५० हजारदेखि १ लाखसम्म भ्रष्टाचार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय गर्ने कानुन निर्माण गर्न समितिमा सहमति जुटेको सभापति परशुराममेघी गुरुङले जानकारी दिए । ५० हजार रुपैयाँसम्म भ्रष्टाचार गरेमा १ महिनादेखि ६ महिनासम्म कैद सजाय गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रस्ताव गरेको ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ मा १ करोडभन्दा जति बढी भ्रष्टाचार गरे पनि १० वर्षसम्म मात्रै कैद गर्ने पुरानै व्यवस्था प्रस्ताव गरेको थियो । रिसवत लिएको रकम जफत हुने र सोही रकमबराबरको बिगो असुल गर्ने कानुनी व्यवस्था छ ।

यस्तो सजाय राष्ट्र सेवक कर्मचारी वा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने विधेयकमा लेखिएको छ ।

नेपालले अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेकाले सरकारी, निजी क्षेत्र र राजनीतिक क्षेत्रमा हुने अनियमितता र भष्टाचार नियन्त्रण गर्नका लागि भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न लागिएको हो ।