कोरोना संक्रमणबाट नेपालमा तेश्रो मृत्यु
कोरोना संक्रमणबाट नेपालमा तेश्रो मृत्यु
८ जेठ २०७७ काठमाडौँ : कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।
यस अघि गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको भनेर गलत सूचना सार्वजनिक गरेको थियो।
कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए ।
उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।
अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिए ।
कोरोना संक्रमितको मृत्यु भएको खबर बुधबार बिहानै गुल्मीस्थित आफन्तजनसम्म पुग्यो ।
भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले अन्ततः बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्यो ।
स्रोतका अनुसार जीवित व्यक्तिका बिषयमा झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए ।
अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।
‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।
सुरुदेखि अस्पतालमै रहेका उनका दाजुले पनि डाक्टरले भाइलाई बचाउन नसकिएको जानकारी गराएको बताए । ‘बिहान सवा ७ बजेतिर हामीलाई बचाउन नसकिएको बताएका छन्,’ उनले भने, ‘हामीले के गर्ने भन्ने पनि सल्लाह गर्दै छौं ।’
अस्पतालले बिहान उनको मृत्युको जानकारी परिवारलाई दिएको जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बिरामीको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताए । ‘हामी आगामी प्रोटोकलको तयारीमा जुटेका छौं,’ उनले भने, ‘संघीय सरकारलाई पनि जानकारी गराइसकेका छौं ।’
गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाँची हुँदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएदेखि उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइफङ्सन सिन्ड्रोम) थियो । जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
अवस्था गम्भीर हुँदै गएपछि जेठ २ गते उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोभिड–१९ संक्रमण तीन जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोककी सुत्केरी र बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।