Breakingदेशमनोरंजनसमाचार

राजेश हमालले भने ‘भारतको पछिल्लो गतिविधी हामीलाई स्विकार्य छैन’

राजेश हमालले भने ‘भारतको पछिल्लो गतिविधी हामीलाई स्विकार्य छैन’

८ जेठ २०७७ काठमाडौँ : नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरि नयाँ नक्शा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भैसकेको छ । नेपालले आफ्नो भू–भाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ ।

यो बिषयमा नेपाली चलचित्रका कलाकारहरुले पनि आवाज उठाउन थालेका छन् । एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको बिषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् ।

यो बिषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाई सार्वजनिक गरेका छन् । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाई राखेका हुन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधीले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू–भाग हो ।’

हमालले भारतको पछिल्लो समयको गतिविधी स्विकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले, सम्पुर्ण नेपाली जनताले आफ्नो सिमाको बिषयमा कुनै पनि खालको संझौता नगर्ने उल्लेख गरेका छन् ।

हमालले नेपाल र भारतविच उठेको सिमानाको समस्याले सिंगो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले, भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन् । हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबान्दी लगाएर भारतले दिएको ठूलो दुःखलाई नेपालले कहिले पनि विर्सन नसक्ने पनि बताएका छन् ।

उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कुटनितिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’