Breakingदेशराजनितीसमाचार

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

२७ वैशाख २०७७ काठमाडौं : नेपाली भूभाग अतिक्रमण गरेर भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक उदघाटन गरिएकोमा आपत्ति जनाएको हो । लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक-पटक दोहोर्‍याउँदै आएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्‍याएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *