कोरोनाभाइरससमाचार

कोशी ब्यारेजस्थित क्वारेन्टाइनबाट १९ भारतीय फरार

कोशी ब्यारेजस्थित क्वारेन्टाइनबाट १९ भारतीय फरार

२६ बैशाख २०७७ सप्तरी: सप्तरीको कोशी ब्यारेज स्थित क्वारेन्टाइनबाट १९ जना भारतीय नागरिक फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित रहेको क्वारेन्टाइनबाट उनीहरु भएका हुन।

चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहेको क्वारेन्टाइनबाट उनीहरु फरार हुँदा प्रहरी प्रशासन बेखबर बनेको छ। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको स्थानीय बासीको भनाइ छ । नेपालको विभिन्न भागबाट घर जादै गरको अवस्थमा उनीहरुलाई दुई सातादेखि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई खान बस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयले गर्दै आइरहेको थियो ।

गएराति कोठामा रहेका १९ जना एकैचोटि फरार भएको बिहीबार बिहानमात्र थाहा पाए । फरार भएका सबैका समानहरु कोठामै छन् । क्वारेन्टाइबाट फरार भएकाहरु कहाँ गएको भने घटना शंकास्पद रहेको स्थानीयहरुको भनाइ रहेको छ ।

फरार भएका १९ जना सप्तरीको कुनै गाउँमा नै लुकेको हुनसक्ने स्थानीहरू शंका गर्छन् । उनीहरुको समानय ज्वरो नाप्ने काम माात्र भएको स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको कोरोना परीक्षण गरिएको थिएन । यसले गर्दा सप्तरीमा कोरोनाको जोखिम बढ्न गएको स्थानीयले बताएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले आफूले क्वारेन्टाइनमा खानाको प्रबन्ध र स्वास्थ्यसम्बन्धी विषय मात्र हेर्ने गरेकाले यसबारे सुरक्षाकर्मीहरुले नै भन्न सक्ने बताउनुभयो ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनामध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताउनुभयो । उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित सम्पर्क हुन सकेन । स्रोतका अनुसार प्रमुख राइनसहित पाँच प्रहरी शुक्रबार जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समेत यसबारे कुनै प्रतिक्रिया जनाउन चाहनुभएन । आफ्नो कार्यालयको प्रवक्तासँग प्रतिक्रिया लिन प्रजिअ खनालले संचारकर्मीहरूलाई सुझाव दिनुभयो । यद्यपी जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्द ठाकुरले यसबारे आफूलाई खासै जानकारी नरहेको भन्दै सप्तरीका प्रहरी प्रमुखसँग प्रतिक्रिया लिन बताउनुभयो।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईसँग यसबरे सोध्दा उहाँले पनि खुलेर कुरा गर्न चाहनुभएन।

प्रहरी प्रमुख तानिए

कोशी व्यारेजस्थित एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको उक्त क्वारेन्टाइनमा डेढ सातादेखि बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेपछि छानबिन सुरु गरिएको हो ।

स्रोतका अनुसार उनीहरुलाई प्रहरीकै सहयोगमा भारततर्फ पठाइएको हो । कोशी नदीबाट डुंगामार्फत रक्सी, लागूऔषध, गुट्खासहितका सामान लकडाउनको समयमा पनि तस्करी हुन थालेपछि प्रहरीकै अगुवाइमा केही दिनअघि सबै डुंगामा ताला लगाइएको थियो । तर सोही डुंगामार्फत प्रहरीले नै १९ जनालाई भारततर्फ पठाइएको स्रोतको भनाइ छ ।

हाल इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सई सागीर राइनलाई जिल्ला प्रहरी कार्यालय राजविराज तानिएको छ । उनको ठाउँमा अर्काे सईलाई भारदह पठाइएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले १९ जना वेपत्ता भएकै विषयमा अनुसन्धान गर्न सई राइनलाई जिल्ला बोलाइएको बताए । ‘१९ जना फरार भएको सन्दर्भमा बुझ्नलाई नै उनलाई जिल्ला बोलाइएको हो’ डीआईजी सिंहले भने, ‘हामी प्रहरीको घेराबाट कसरी १९ जना वेपत्ता भए त्यस सम्बन्धमा गहिरो तरिकाले अनुसन्धान गर्दैछौं ।’

क्वारेन्टाइनमा राखिएका ७२ जनाको निगरानी १० जना सुरक्षाकर्मीले गर्दै आएका थिए । डीआईजी सिंहले नेपाल र भारत सरकारको समझदारीअनुसार भारतीय नागरिकलाई राखिएको भन्दै उनीहरुलाई भारतीय पक्षले फिर्ता पठाउनुपर्ने बताए ।

‘हामीले उताबाट यता आएकालाई फर्काइदिँदै आएका छौं । भारतीय पक्षको पनि यो कर्तव्य हो’ उनले भने । ती भारतीय नागरिकको व्यवस्थापन स्थानीय तहले गर्दै आएको थियो ।