समाचार

हुलुहुज्जत गर्दै नेपाल छिर्न खोज्‍ने भारतीयलाई सशस्त्रले हवाई फायर गरी फर्कायो

हुलुहुज्जत गर्दै नेपाल छिर्न खोज्‍ने भारतीयलाई सशस्त्रले हवाई फायर गरी फर्कायो

२६ बैशाख २०७७ काठमाडौँ : पर्साको अलौ नाकाबाट भारतीय नागरिक प्रवेश गर्न खोजेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

बिहीबार राति ८ बजेतिर भारतीय नागरिक हुलुहुज्जत गर्दै नेपाल प्रवेश गर्न खोजेका थिए । त्यही क्रममा नेपालतर्फको सीमा सुरक्षार्थ चेकप्वाइन्टमा ढुंगा प्रहार गरेपछि सशस्त्रले हवाई फायर गरेर भीडलाई तितरबितर पारेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । त्यसपछि भारतीय सुरक्षाकर्मीले समेत भीडलाई भारततर्फ नै फर्काइदिएको थियो ।

बिहीबार मात्रै बाराको सीमानाकामा पनि भारतीय नागरिक हुलहुज्जतसहित नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । लकडाउनयता मात्रै १३ वटा सीमानाकामा भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् ।

चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको सुरक्षाा निकायले बताएका छन् ।

आउजाउमा रोक लगाउँदा भारतीय भूमिबाट आएको भीडले प्रहरीका हतियार नै खोस्नेसम्मका गतिविधि गरेका छन् । कतिपय चेकप्वाइन्टमा सीमापारिबाट रातको समयमा सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा प्रहार हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । आक्रमणका घटना नरोकिए दशगजाबाट ३ किमि क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु लगाई सीमा क्षेत्रलाई ‘रेड जोन’ घोषणा गर्नुपर्ने सुझावसमेत आएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ । मंगलबारमात्रै सरकारले सीमाबाट ५ किमिभित्र सेनाको गस्ती परिचालन गर्ने निर्णय गरिसकेको छ ।