आर्थिकदेशराजनितीसमाचार

लकडाउन शर्तसहित खोल्नुपर्छ : गृहमन्त्री

लकडाउन शर्तसहित खोल्नुपर्छ : गृहमन्त्री

२३ बैशाख २०७७ काठमाडौँ : कोरोना भाइरस रोकथाम गर्न लागु गरिएको लकडाउनले अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्न थालेकोले खुकुलो पार्नुपर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

रोजगारी गुमेको र अन्य क्षेत्रमा पनि नकरात्मक प्रभाव पर्न थालेको भन्दै उनले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा लकडाउन क्रमशः खोल्नुपर्ने बताएका छन् ।

उद्योग र सेवाक्षेत्र क्रमशः खोल्नुपर्ने गृहमन्त्री थापाको भनाइ छ । ‘उद्योग र सेवा क्षेत्रलाई सामाजिक दूरी कायम गर्ने शर्तसहित खोल्नुपर्छ,’ उनले भने, ‘नत्र भने कोरोना भाइरसले त सिध्याउँछ नै आर्थिक संकटले पनि सिध्याउँछ ।’ कोरोनालाई निस्तेज गर्नका लागि लकडाउन लगाइएको भए पनि यसलाई खुकुलो पार्नुपर्ने उनको भनाइ थियो । सामाजिक सद्भाव कायम गर्ने र राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नुपर्ने भनाइ उनको छ ।

कोरोनाका कारण विदेशबाट नेपाल आउने र सहरबाट गाउँ जाने क्रम बढेको भन्दै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि सबैले मिलेर काम गर्दै कोरोना र यसबाट सिर्जित समस्यालाई परास्त गर्नुपर्ने धारणा राखे । उनले थपे, ‘सामाजिक असन्तुष्टि बढेको छ । असन्तोष पैदा भएको छ । यो समस्या समाधान गर्नका लागि सामाजिक सद्भाव र राष्ट्रिय सहमति तथा एकताको रणनीति लिएर यो संकट समाधान गर्नुपर्छ।’

विश्व अर्थतन्त्र नै मानवसमाज नै कोरोना भाइरसको घेराबन्दीमा परेको भन्दै गृहमन्त्री थापाले यसबाट विश्वमा नै सामाजिक र राजनीतिक संकट पैदा हुने बताए ।