राजनितीसमाचार

प्रधानमन्त्री ओली राजिनामा दिन तयार, बामदेवलाई प्रधानमन्त्री प्रस्ताव

प्रधानमन्त्री ओली राजिनामा दिन तयार, बामदेवलाई प्रधानमन्त्री प्रस्ताव

१८ बैशाख २०७७ काठमाडौँ : आन्तरिक बिबादमा रुमलिएको नेकपाको बिबाद उत्कर्षमा रहेको र यसैबीच नेकपाबाटै निर्वाचित प्रधानमन्त्रीको समेत राजिनामा माग गरिरहेका बेला प्रधानमन्त्री केपी ओलीले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

माधव, प्रचण्ड र ओली गरि तिन धारमा बाडिएको नेकपाको सचिवालयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले कोरोना महामारी नियन्त्रणपछि पद छाड्ने घोषणा गरे । उनले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेश्रो अध्यक्ष प्रस्ताव गरे ।

‘हामी अहिले कोरोना महामारीसँग जुधिरहेका छौं । यो महामारी सकिएपछि कमरेड वामदेवलाई प्रधानमन्त्री र कमरेड माधव नेपाललाई तेश्रो अध्यक्ष बनाऔं भन्ने मेरो प्रस्ताव छ’, एक सचिवालय सदस्यले ओलीको भनाइ उद्धृत गर्दै भने । गौतमलाई राष्ट्रियसभामा लाने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी कानून संशोधन गर्ने वा प्रतिनिधिसभाको कुनै सदस्यलाई राजीनामा गराएर उनलाई संसदमा ल्याउने प्रस्ताव पनि ओलीले गरे ।

तर, ओलीले वामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव हालका लागि पार्टीभित्र आफूविरोधी माहोल मत्थर पार्न फालेको कार्डका रुपमा लिइएको ती नेताले बताए । ‘यो आफ्नो हल्लिएको कुर्सी जोगाउने उहाँको खेल हो’, एक नेताले भने, ‘यस्तो कार्डमा हामी विश्वास गर्दैनौं ।’

ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालले घेराबन्दी गरेका छन् । उनीहरुको मोर्चाबन्दी तोड्न यसअघि गरेका सबै प्रयास विफल भएपछि ओलीले यो पछिल्लो कार्ड खेलेको बुझाइ उनीइतर नेताहरुको छ ।