सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुई युवक
सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुई युवक
१७ चैत २०७६ सप्तरी : लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् ।
यो पनि पढ्नुहोस : कोरोना उपचार सामग्री पुर्याउन उडेको सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्कियो
घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताए । दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कुटपिट गर्ने कर्मचारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका थिए । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बताए ।
एपीएफले छानविन थाल्यो
घटनाका बिषयमा प्रश्न उठेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन थालेको छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले अनुसन्धान थालिएको बताए ।
उनले भने, ‘छानविन सुरु भएको छ, घटनामा संलग्न कर्मचारीमाथि विभागीय कारबाही हुन्छ ।’
