देशभरका फुटबल प्रतियोगिता स्थगित गर्न एन्फाको निर्देशन
देशभरका फुटबल प्रतियोगिता स्थगित गर्न एन्फाको निर्देशन
२३ फागुन २०७६ काठमाडौं: अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणसँगै खेलकूदका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ साथै जिल्ला तहमा हुने खेलकूदका प्रतियोगिता पनि स्थगित गर्न निर्देशन दिएको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै एन्फाले उपमेयर राष्ट्रिय महिला लिगसँगै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समेत स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । उपमेयर राष्ट्रिय महिला फुटबल प्रतियोगिता चैत्त ३ गतेदेखि धरानमा हुने निर्धारण गरिएको थियो ।
कोरोना भाइरसको संक्रमण फैलने जोखिम बढे संगै तत्कालकालागि प्रतियोगिता र प्रशिक्षणहरु स्थगित गरिएको एन्फाले उल्लेख गरेको छ । नेपाली फुटबल टोलीले विश्वकप फुटबलको छनोट खेल चैत्त दोस्रो साता घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । फिफाले छनोट खेल स्थगित गर्ने औपचारिक प्रस्ताव सदस्य राष्ट्रलाई पठाइसकेको छ । सदस्य राष्ट्रको सहमतिपछि उसले औपचारिक रुपमा छनोट खेल स्थगित गर्ने निर्णय गर्नेछ ।
