देशसमाचार

५ मुलुकका नागरिकले अबदेखि नेपालमा अनअराइभल भिसा नपाउने

५ मुलुकका नागरिकले अबदेखि नेपालमा अनअराइभल भिसा नपाउने

१९ फागुन २०७६ काठमाडौं : नेपालले अबदेखि विभिन्न ५ मुलुकका नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् ।

नेपालको गृह मन्त्रालय स्रोतलेका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने भएको हो । अहिले पनि आंतकवादी गतिविधि भइरहेका करीव डेड दर्जन मुलुकका नागरिकलाई नेपालले अनअराइभल भिसा दिँदैन ।

पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सोही सिलसिलामा अतिप्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए ।

अध्यागमन विभाग अन्तर्गत ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा रहेको छ । हवाई मार्गबाट आउनेहरुका लागि त्रिभुवन विमानस्थलमा आवश्यक व्यवस्था मिलाइएको छ । अनअराइभल जारी हुने सबै भिषा ‘पर्यटक भिसा’ हुन् ।

अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउन सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भने भिषा पाउन सक्नेछन।