क्रिकेटखेलकुद

भारतसँग हार्‍यो न्युजिल्याण्ड, सुपर ओभर घातक

भारतसँग हार्‍यो न्युजिल्याण्ड, सुपर ओभर घातक

१७ माघ २०७६ काठमाडौं : भारत र न्युजिल्यान्ड बीच भएको चौथो टि२० सिरिजमा न्युजिल्याण्ड पराजित भएको छ । भारतविरुद्ध चौथो टी २० खेलमा न्युजिल्याण्ड दोश्रो पटक सुपर ओभरमा पराजित भएको हो ।

तेस्रो खेलमा पनि न्यूजिल्याण्ड सुपर ओभरमै पराजित भएको थियो । खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १६५ रन बनाएपछि खेल टाई भएको थियो। त्यसपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

सुपर ओभरका लागि पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले १ विकेट गुमाएर १३ रन बनाएको थियो भने भारतले सुपर ओभरमा १ विकेट गुमाएर १६ रन बनाउदै खेल जित्यो । न्युजिल्यान्डका लागि टिम फेइफर्टले र कोलिन मनरोले १ चौका प्रहार गरेका थिए भने भारतका लागी लोकेश राहुलले एक छक्का र एक चौकासहित १० रन बनाए भने कप्तान विराट कोहलीले ६ रन जोडे ।

सुपर ओभरमा खेल जानुअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । भारतका लागि मनिस पाण्डेले अविजित रहँदै ५० रन बनाए । न्युजिल्याण्डका इस सोधीले ३ विकेट लिए ।

१६६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन नै बनायो । न्युजिल्याण्डका लागि कोलिन मनरोले सर्वाधिक ६४ रन बनाए भने टिम फेइफर्टले ५७ रन जोडे । तर पनि जित हात पार्न सकेन । भारतका शार्दुल ठाकुरले २ विकेट लिए ।

चौथो खेल सुपर ओभरमा जितेपछि भारतले पाँच खेलको सिरिजमा ४-० को अग्रता बनाएको छ। भारतले यसअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।