‘सेल्फी किङ’को पोस्टर सार्वजनिक, बिपिन कार्कीको मुख्य भूमिका
‘सेल्फी किङ’को पोस्टर सार्वजनिक, बिपिन कार्कीको मुख्य भूमिका
९ मङ्सिर २०७६ काठमाडौं : नेपाली चलचित्र जगतका जल्दाबल्दा अभिनेता विपिन कार्कीलाई किङ अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ’ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ। यो फिल्म माघ २४ बाट देशभर प्रदर्शन हुने भएको छ।
पोस्टरमा विपिन ‘मपाईं’ स्वरूपमा चित्रित छन्। ‘सेल्फी किङ’ नामले परिचित एक चर्चित हास्यकलाकार (टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइने बताए।
ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। उनको यो डेब्यु फिल्म हो। विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सबिन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ। अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छन्।
गत वर्षको सफल फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रूपमा यो फिल्म निर्माण गरेका हुन्। फिल्ममा विशालको लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बी पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ।
त्यस्तै, कृति जोशीको शृंगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, विनोद पौडेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ। यसमा सहनिर्माता राजेश बिसुराल र प्रबल कोइराला छन्।