‘आफ्नो जमिन फिर्ता गराएरै छाड्छौं, तर लडेर, झगडा गरेर होइन’ – मन्त्री बाँस्कोटा
‘आफ्नो जमिन फिर्ता गराएरै छाड्छौं, तर लडेर, झगडा गरेर होइन’ – मन्त्री बाँस्कोटा
८ मंसिर पोखरा : सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल बाँस्कोटाले सरकारले राष्ट्रियताको पक्षमा शिर उच्च बनाएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै काम नगरेको बताउनुभयो ।
सरकार त्यति कमजोर छैन,‘उहाँले भन्नुभयोे -‘आफ्नो जमिन फिर्ता गराएरै छाड्छौं, तर लडेर, झगडा गरेर होइन, वार्ता र सम्वादबाटै ।’ हामीलाई अरु कसैको एक इन्च जमिनपनि चाहिएको छैन,‘उहाँले भन्नुभयोे,‘तर हाम्रा पुर्खाले रगत बगाएर विरताका साथ जे जति हिजोको जमिन जोगाएर राखेका छन्, त्यो जमिनमाथि अरु कसैको हस्तक्षेप वा त्यसप्रतिको अतिक्रमण हाम्रालागि स्वीकार्य छैन ।’
मन्त्री बाँस्कोटाले नाकाबन्दीमा म्याउ गर्न नसक्ने देउवा अहिले आएर ढाडे बनेर कुर्लिन खोजेको टिप्पणी समेत गर्नुभयो । देशभक्तिको प्रश्नमा हाम्रो भाषा लर्बरिदैन,‘उहाँले भन्नुभयो,‘नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्नेले अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’ उहाँले सर्बदलीय प्रधानमन्त्रीले बोलाएको बैठकमा ऐतिहासिक सहमति जुटेको भन्दै त्यतिबेला उहाँको असन्तुष्टी थिएन अनि देउवाले चुनावी मसलाका रुपमा पोखरामा भाषण गर्नु अपत्यारिलो भएको बताउनुभयो ।
सर्बदलीय बैठकमा कसैकोपनि असहमति थिएन,‘उहाँले भन्नुभयो् -‘ बैठकले दुइवटा निर्णय गरेको थियो, त्यो एउटा कुटनीतिक र अर्को राजनीतिक बाटोबाट समाधान खोज्नुपर्ने भन्ने छ ।’ एकपटक जनताको मत र फैसलाहरुमाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय भएको उल्लेख गर्नुभयो ।
देउवाले झूठा आरोप लगाईरहँदा गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ देउवा र उनको पार्टी कांग्रेसले दिनुपर्ने बताउनुभयो । यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि-सम्झौताका बेलामा देउवाले आत्मसर्पण गरेकोसमेत उहाँको आरोप थियो । टनकपुर सन्धि हामीले बिर्सिएका छैनौं, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्यो,‘उहाँले भन्नुभयो,‘त्यो सन्धिप्रति शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सम्मानित अदालतले पनि गलत हो भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ?।’ कार्यक्रम पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।