Breakingखेलकुदसमाचार

काभा भलिबलमा नेपालको ऐतिहासिक जित

१९ साउन, २०८१ काठमाडौं : काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले ऐतिहासिक जित निकालेको छ । नेपाल भारत बीच भएको फाइनल खेलमा भारतमाथि नेपालले ऐतिहासिक जित हासिल गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्‍यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।

दोस्रो सेटमा भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।

तेस्रो सेटमा नेपालले २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो ।

चौथो सेटमा भारतले २५–१८ ले जितेको थियो ।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।