नेपाली सेनासँग कुनैपनि विवाद छैन : रक्षा मन्त्रालय
नेपाली सेनासँग कुनैपनि विवाद छैन : रक्षा मन्त्रालय
१ भदौ २०७७ काठमाडौँ : रक्षा मन्त्रालयले नेपाली सेनासँग मन्त्रालयको सम्बन्ध सुमधुर रहेको जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच असमझदारी रहेको जस्ता विभिन्न सञ्चार माध्यममा सुनियोजित, मनगढन्ते र तथ्यहीन समाचार आएको भन्दै ती समाचारमा सत्यता नरहेको जनाएको छ ।
जङ्गी अड्डाबाट अनुमतिका लागि आउने फाइल तुरुन्तै निर्णय गरी फिर्ता पठाउने गरेको र मन्त्रिपरिषद्मा लैजानुपर्ने विषयलाई पनि ढिलो नगरी अगाडि बढाउने गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । नेपाली सेनाबाट स्वीकृतिका लागि अनुरोध भई आएको विषयमा मन्त्रालयबाट समयमै निर्णय नभएको वा असहयोग भएको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारिन्छ, विज्ञप्तिमा भनिएको छ, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र नेपाली सेनाका प्रधान सेनापतिबीच नियमित भेटघाट चलिरहेको र आवश्यकतानुसार नीतिगत विषयमा छलफल, परामर्श भइरहेको छ ।
विज्ञप्तिमा ‘रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाली सेना राज्यको अत्यन्त अनुशासित, बफादार, भरपर्दो, व्यावसायिक र सुदृढ सुरक्षा संयन्त्र हो । नेपाली सेनाले नेपाल सरकारबाट भएका सबै निर्देशन र निर्णयको चुस्त र प्रभावकारी कार्यान्वयन गर्दै आएको’ जनाइएको छ ।
खरिद सम्बन्धी प्रचलित कानुन बमोजिम पारदर्शी प्रक्रिया अवलम्बन गरी चीन सरकारले तोकेको सरकारी निकायबाट कोरोना सम्बन्धी स्वास्थ्य सामग्री खरिद गरिएको हो । नेपाल वायुसेवा निगम मार्फत ती स्वास्थ्य सामग्री ढुवानी गर्दा मन्त्रालयले ढिलो गर्न लगाएको भन्ने आरोप पूर्णतः निराधार र कपोलकल्पित रहेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा ‘सरकारको निर्णय बमोजिम सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध छ र यसमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय र सहजीकरणमा कुनै कमी कमजोरी छैन । कतिपय काम जटिल भए पनि नेपाली सेनाले द्रुतमार्ग निर्माणका क्रममा हालसम्म सम्पादन गरेका कार्य प्रभावकारी रहेका छन्’ भनी उल्लेख गरिएको छ ।