पर्सामा आइतबार दिउँसोदेखि भदाै १३ गतेसम्म सेना परिचालन
पर्सामा आइतबार दिउँसोदेखि भदाै १३ गतेसम्म सेना परिचालन
३२ साउन २०७७ पर्सा : कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा थप सर्तकता अपनाउन आइतबार दिउँसोदेखि नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आइतबार दिउँसो २ बजेदेखि भदौ १३ गते राति १२ बजे सम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र जनपथ प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ सेना परिचालन गर्ने निर्णय भएको बताउनुभएको छ ।
उहाँले पर्सा जिल्ला कोरोनाको उच्च जोखिममा रहेकोले साउन १० गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा आदेश जारी गरेकोमा सोको अवज्ञा भई सर्वसाधारणहरुको भिडभाड तथा चहलपहल बढ्दै गएपछि नियन्त्रण गर्न तथा कोभिड १९ नियन्त्रण र रोकथामका लागि सेना परिचालन गरिएको बताउनुभयो ।
पर्सा जिल्लामा साउनयता नारायणी कोभिड अस्पतालमा गरिएको पीसीआर परिक्षणमा प्रत्येक दिन कोरोना सक्रंमितहरुको सङ्ख्या थपिदैँं गएको र कोरोनाबाट २५ जनाको मृत्युसमेत भईसकेको छ ।
यसैबीच, कोरोना सङ्क्रमित भई वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि साउन २२ गते भर्ना भएका बीरगन्ज महानगरपालिका वार्ड न. १३ मुर्लीका ५५ वर्षीय लालबहादुर प्रसाद कलवार कोरोनामुक्त भएर अस्पतालबाट डिस्र्चाज भइ घर नपुग्दै मृत्यु भएको छ ।
हेल्थ केयरमा उपचार गराई रहेका कलवारको दोस्रो पीसीआर रिर्पोट निगेटिभ आपछि चिकित्सक उदय नारायण सिंहले शनिबार राति उनलाई डिस्र्चाज गरेका थिए । डिस्चार्ज गरिएका कलवारको स्वास्थ्य अवस्था राम्रो नभएको तर उनी कोरोना सक्रंमण मुक्त भईसकेकाले उनलाई कोभिड अस्पतालमा राखेर उपचार गर्न ठिक नभएकोले थप उपचारका लागि अन्य अस्पतालमा लगन सुझाव डा. सिंहले उनका परिवारजनलाई दिएपछि थप उपचारका लागि नारायणी बयोधन अस्पताल भर्ना गरेको चार घण्टा भित्र उनको मृत्यु भएको उनका परिवारजन तथा अस्पताल प्रशासनका विष्णु पटेलले बताउनुभयो ।