चीनले दियो अमेरिकाको जीपीएस प्रणालीलाई चुनौती
चीनले दियो अमेरिकाको जीपीएस प्रणालीलाई चुनौती
अन्तरिक्षमा प्रमुख शक्ति बन्ने होडमा चीनले जीपीएसलाई चुनौती दिने प्रणालीका लागि आवश्यक अन्तिम भूउपग्रह पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ।
मङ्गलवारको प्रक्षेपणपछि अब चीनले अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसमा भर पर्नु पर्ने छैन।
चीनको एक खर्ब अमेरिकी डलरको बेईडौ-३ प्रणाली ३५ भूउपग्रहको सञ्जाल हो र यसले पृथ्वीको सबै कुना समेट्छ।
चीन र अमेरिकाबीच कोरोनाभाइरस, व्यापार र हङ्कङलाई लिएर तनाव भइरहेको बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो।
यो प्रक्षेपण गत सातानै गरिने योजना भए पनि रकेटमा प्राविधिक समस्या देखिएपछि सरेको थियो।
बेईडौ नेभिगेसन सिस्टम बीडीएसको तेस्रो संस्करण अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपको ग्यालिलियो प्रणालीको विकल्प हुनेछ।
यो परियोजना सन् २०१२ मा सुरु गरिएको थियो।
गएको २० वर्षमा चीनको अन्तरिक्ष कार्यक्रमले तीव्र गतिमा विकास गरेको छ।
स्पेसएक्सः अन्तरिक्षमा मानव पठाउने पहिलो निजी कम्पनी
सन् २००३ मा चीन मानव बोकेको अन्तरिक्ष यान प्रक्षेपण गर्ने तेस्रो राष्ट्र बनेको थियो। त्यसपछि चीनले एउटा परीक्षणकालमा रहेको अन्तरिक्ष स्टेशन निर्माण गरेको छ र चन्द्रमामा दुई वाहन पठाएको छ।
चीनको भविष्यमा स्थायी अन्तरिक्ष स्टेशन राख्ने, मानवलाई चन्द्रमामा उतार्ने र मङ्गल ग्रहमा यान एवम् वाहन पठाउने तयारीको रूपमा बेईडौलाई हेरिएको छ।
चीनले ती कुरामा सफलता प्राप्त गरेमा अन्तरिक्ष अन्वेषणमा अमेरिकाको प्रतिद्वन्द्वी हुने मानिएको छ।
