Breakingदेशराजनितीसमाचार

नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए नेपालको सडक

नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए नेपालको सडक

१६ जेठ २०७७ वीरगन्ज : निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेर भत्काएका छन् ।

पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर सडक बनाइएको थियो ।

बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका हुन् । भारतीयले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए । केही समयको भनाभन पछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।

ठोरी गाउँपालिका २ का अध्यक्ष किशोर तमाङले सडक भत्काएको खबर पाएर पुलमा पुग्दा त्यहाँ वर्दीमै रहेका भारतीय सुरक्षाकर्मीको रोहवरमा भारतीय नागरिकले सडक भत्काइरहेको बताए । ‘नेपाली भूमिमा निर्माण गरिएको सडक किन भत्काएको भनी स्थानीयले प्रतिकार गरेपछि भारतीयहरु फर्किए,’ उनले भने ।

हुलाकी सडक र पुलबीचको कुलो पुरिएकाले त्यसलाई खोल्न आएको भारतीय पक्षको भनाई छ । ‘हुलाकी सडक र पुलबीचको एउटा कुलो पुरिए पनि भारतमा पानीको बहाव रोकिएको छैन्,’ वडा अध्यक्ष तमाङले भने, ‘तीनवटा कुलोमध्ये एउटा कुलोमात्र नेपालीले प्रयोग गर्दै आएका छन् । दुइटा कुलो भारततर्फ जान्थ्यो, पुल सञ्चालनका लागि एउटा कुलो पुरिए पनि भारततर्फ अझै एउटा कुलोमा पानी बगिरहेको छ ।’

भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । हुलाकी सडक र पुलबीचको कुलोमा सडक नबनाउन्जेल पुल प्रयोगमा ल्याउने अवस्था नरहेको वडा अध्यक्ष तामाङको दाबी छ ।

भारतीय अवरोधका कारण सात वर्षसम्म पुलको निर्माण सुरु नै हुन सकेको थिएन । २०७४ बैशाखमा दुवै देशका सीमा अधिकारीबीच भएको वार्तामा ठोरीको सीमा विवादमा सहमित भएपछि पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माण सुरु भएको थियो ।

ठुटे खोलामा पुल निर्माण गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । नेपाल–भारत सीमा नजिकै रहेको ठुटे खोलामा पुल निर्माणका लागि २०६७ सालमा सर्वेक्षण गरिँदा एसएसबीले भारतीय भूमि भन्दै अवरोध गरेको थियो ।