देशराजनितीसमाचारसमाज

टुटल र पठाओ चालकमाथि प्रहरीको कारबाही सुरु

टुटल र पठाओ चालकमाथि प्रहरीको कारबाही सुरु

८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।

आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

तामाङकाअनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले उनलाई घेरेका थिए । ‘एकैछिनमा ट्राफिक पनि आइपुग्यो र चिट काट्यो’, उनले भने, ‘पठाओ हो भन्नेवित्तिकै मलाई ट्राफिकले मान्छे बोक्न मिल्दैन भन्यो ।’

ट्याक्सी चालकहरुले भने पुनः भाडामा मान्छे बोके मोटरसाइकल फोडिदिन्छु भनेर धम्की दिएको उनको भनाइ छ । ‘मलाई त यो अवैधानिक हो कि वैधानिक हो भन्ने पनि थाहा थिएन’, उनले भने, ‘अफिसमा गएर बुझ्दा दर्ता भएको भन्ने कुरा आयो । माथि कुरा हुन्छ भनेर भन्नु भएको छ ।’

सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।