नेपालमा लोकप्रिय खेल पब्जी प्रतिबन्धित

नेपालमा लोकप्रिय खेल पब्जी प्रतिबन्धित

नेपालमा लोकप्रिय खेल पब्जी प्रतिबन्धित

२८ चैत २०७५ काठमाडौं : सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

सरकारले बिहीबार पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका छन् ।

के हुन्छ पब्जीमा ?

पब्जीमा धेरै मानिसको एउटा आइल्याण्ड हुन्छ, जहाँ एकअर्कालाई मार्ने प्रयास गरिन्छ । एक्लै, दुई जना साथी बनेर, चार जना साथी बनेर टिमका रुपमा पनि खेल्न सकिन्छ । यसमा आफू बचेर बस्नु र अरुलाई मार्नु नै जितको मूल आधार हो । जो अन्तिमसम्म बाँचिरहन्छ उही विजेता बन्छ ।

खेल सुरु हुँदा सय जनासम्म भर्चुअल खेलाडी हुन्छन्, जसलाई प्लेनमा राखेर एउटा समुद्री तटमा लगेर प्यारासुटमार्फत छाडिन्छ । त्यसपछि त्यहाँ विभिन्न स्थानमा राखिएका हतियार, गोली, बम, बुलेट प्रुफ भेस्ट, औषधीजस्ता सामान संकलन सुरु हुन्छ । त्यसपछि नै मार्ने र बच्ने प्रक्रिया सुरु हुन्छ ।

खेल हुँदै जाँदा युद्धक्षेत्र निश्चित घेराभित्र खुम्चिँदै जान्छ र खुम्चिनुभन्दा पहिले तोकिएको समयमै घेराभित्र जान सक्नुपर्छ । यदि जान नसके विस्तारै खेलाडीको स्वास्थ्य कमजोर हुँदै गएको संकेत देखिन्छ । यदि स्वास्थ्य बचाउन नसके खेलाडीको मृत्यु हुन्छ । जब जब खेलाडी कम हुँदै जान्छन्, खेल अझ रोचक हुँदै जान्छ । खेल हुँदै जाँदा राम्रा हतियार, औषधी र बुलेट प्रुफ भेस्ट निश्चित क्षेत्रहरुमा खसालिन्छ, जसलाई ‘एयर ड्रप’ भनिन्छ ।

जब अन्तिममा कुनै समूह या व्यक्ति विजेता बन्छ, तब त्यसलाई ‘विनर विनर चिकेन डिनर’ भनेर खेल जितेको संकेत दिइन्छ ।

पब्जीमा अंक आउने चार तरिका छन् । एउटा गेम प्वाइन्ट, जसमा कति समयसम्म खेलाडी टिकिरहन सक्छ भन्ने कुरा प्रमुख रहन्छ । अर्को हिट प्वाइन्ट, जसमा दुश्मनलाई गोलि हानेको आधारमा अंक आउँछ । तेस्रो किल प्वाइन्ट, जसमा दुश्मनलाई मारेपछि निश्चित अंक आउँछ । समूहमा खेलेका बेला भने यस्तो अंक बाँडिने गर्दछ । अर्को जितपछि पनि निश्चित अंक आउँछ ।

स्तरीय ग्राफिक्स

सुरुमा कम्प्युटरमा मात्रै खेल्न मिल्ने बनाइएको भएपनि अहिले ‘पब्जी मोबाइल’ बनिसकेको छ । मोबाइलमा निःशुल्क चल्ने हुँदा यो सामान्य मान्छेको पहुँचमा पुग्यो ।

पब्जी प्रचलित हुनुको महत्वपूर्ण कारण भनेको खेल जितेपछि आउने पुरस्कार हो, जुन केही अंकमा आउँछ । त्यही अंक पुनः अर्कोपटक खेल्दा काम आउँछ ।

अर्को पक्ष भनेको यसमा प्रयोग भएको ‘ग्राफिक्स’ हो, जुन असाध्यै स्तरीय छ ।

पहिले प्रचलनमा रहेका काउन्टर स्ट्राइक जस्ता भिडियो गेममा भन्दा पब्जीमा धेरै कुरा समेटिएकाले पनि यो छिटो फैलिएको हो ।

यसको ‘कन्ट्रोलिङ पावर’ राम्रो हुने, साथीहरुसँग मिलेर कुराकानी गर्दै खेल्न मिल्ने भएकाले पनि छिटो नै फैलिन पुग्यो । सामान्यतः दुई जीबी र्‍याम भएको मोबाइलमा इन्टरनेटको पहुँच हुँदा राम्ररी चल्ने भएकाले पनि अरु भिडियो गेमको तुलनामा यसको विस्तार छिटो भएको हो ।

प्रतिबन्ध ठीक कि बेठीक ?

सरकारको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सुखद प्रतिक्रिया देखिएको छ । धेरैले सही कदम चालिएको प्रतिक्रिया दिएका छन् ।

पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरुसमेत संसारका विभिन्न भागबाट आउने गरेका थिए । त्यसैले पब्जीलाई प्रतिवन्ध लगाउने कुरा अन्य देशहरुमा पनि उठ्ने गरेको छ ।

मनोविदहरुका अनुसार पब्जीले खेलाडीलाई एकोहोरो बनाउँछ । उनीहरु दिनरात यसमा कसरी जित हासिल गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले उनीहरुको दैनिक व्यवहार नै प्रभावित गर्न सक्ने देखिएको छ ।

भिडियो गेम भनेको एउटा मनोरञ्जनको साधन हो । तर, पब्जी मनोरञ्जनमा मात्रै सिमित भएन । यो लागूऔषध जस्तै बन्यो । यसलाई मन्द विषको संज्ञा समेत दिने गरिएको छ । त्यसैले गर्दा पब्जीलाई प्रतिबन्ध लगाउने नागरिक हितमै देखिन्छ ।

यद्यपि, व्यवहारिक पाटोमा यो प्रतिवन्धलाई कार्यान्वयन गर्न जटिल हुन सक्छ । यो एपलाई डाउनलोड गर्नै नमिल्ने बनाउने हो वा खेल्नेलाई कारवाही गर्ने हो भन्ने सरकारले प्रष्ट पारेको छैन ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...