गुण्डा नाइके राधे भण्डारीलाई नछोडे कडा आन्दोलन गर्ने कांग्रेसको चेतावनी

गुण्डा नाइके राधे भण्डारीलाई नछोडे कडा आन्दोलन गर्ने कांग्रेसको चेतावनी

गुण्डा नाइके राधे भण्डारीलाई नछोडे कडा आन्दोलन गर्ने कांग्रेसको चेतावनी

२६ जेठ २०७६ काठमाडौँ : गत बुधबार पक्राउ परेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई रिहा नगरे आन्दोलन चर्काउने नेपाली कांग्रेसले चेतावनी दिएको छ । धादिङ जिल्लाका प्रायः सबै विकास निर्माणको ठेक्का हत्याउने र समयमा कामसमेत नगर्ने राधेलाई नेपाली कांग्रेस धादिङले संरक्षण दिँदै आएको थियो ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका थिए ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।

तत्कालीन नेकपा एमाले निकट रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि राधे नै अपराध कर्म गर्दै आएको बताइन्छ । धादिङमा राजनीतिको आवरणमा हप्ता असुलीदेखि विभिन्न अपराधीक गतिविधी गर्दै आएको भण्डारी समूहलाई कसैले पनि नियन्त्रणमा लिन सकेको थिएन।

गत बिहीबार प्रहरीले भण्डारीसहित नीलकण्ठ नगरपालिका–३ बस्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापामगरलाई नियन्त्रणमा लिएको हो । राधेको टोलीले स्थानीयलाई धम्की दिएर कुटपिट गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेको थियो। सो टोलीले जनक मगरसहितका स्थानीय बुढाबुढीमाथि समेत आक्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *