राजनिती

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल– भारत सहमत

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल– भारत सहमत

३२ साउन २०७७ काठमाडौँ : काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भएको टेलिफोन कुराकानीमा भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन दुुबै प्रधानमन्त्री सहमत हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा प्रकट गर्नुका साथै अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो ।

दुवै देशका प्रधानमन्त्रीले कोभिड–१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत हुनभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भारतसहित विश्वका वैज्ञानिक र कोभीड १९ विरुद्धको खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गर्नुुभयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्नुुहुुँदै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भनि शुभकामना पनि व्यक्त गर्नुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *