देश

यात्रु नपाएपछि रित्ता बस गुड्दै

यात्रु नपाएपछि रित्ता बस गुड्दै

११ साउन २०७७ काठमाडौँ : विराटनगर बसपार्कबाट रित्तै छुट्ने सार्वजनिक यातायात बसमा मोरङको उर्लाबारीसम्म पुग्दा पनि सिटमा बसिदिने कोही हुन्नन् । चार महिनाको बन्दाबन्दीपछि सार्वजनिक यातायात खुले पनि स्वास्थ्य प्रोटोकल अपनाएर तोकिएका सिटमा बसेर यात्रा गर्ने यात्रु नपाउने गरिएका हुन् ।

चार दिनदेखि बसपार्कबाट फाट्टफुट्ट बस छुट्न थालेका हुन् । सुनौलो पूर्व नेपाल यातायात प्रालिका कोषाध्यक्ष राजु धमलाका अनुसार विराटनगर–इनरुवा, उर्लाबारी र धरानसम्मको यात्राका लागि दैनिक १० देखि १५ वटा बस छुट्ने गर्दछन् तर बसपार्कबाट निस्कँदा अधिकांशले एक जना पनि यात्रु चढाएका हुन्नन् । छोटो दूरीका लागि म्याजिक भेनहरू ४० देखि ५० को सङ्ख्यामा विराटनगरबाट छुट्दै आए पनि बसमा चढ्ने यात्रु नभएको धमलाले बताउनुभयो ।

सामान्य अवस्थामा विराटनगर–काँकडभिट्टा ओहोर–दोहोर गर्ने १५० सवारी साधन थिए । तिनै बसमध्ये केहीले विराटनगर–उर्लाबारी गरिरहेका हुन् । विराटनगर–धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर छुट्ने बसमध्ये केहीले धरानसम्म यात्रु लिएर आउजाउ गरिरहेका छन् । सप्तरी, उदयपुर र सुनसरीको इनरुवासम्मका बसले इनरुवासम्म यात्रु बोक्ने गरेका छन् ।

मोरङ र सुनसरीमा छोटो दूरीका बस केही सङ्ख्यामा चले पनि यात्रु नपाउँदा दैनिक इन्धन खर्चसमेत उठाउन मुस्किल परेको व्यवसायीको दाबी छ । सामान्य अवस्थामा १० देखि १५ मिनेटको अन्तरमा छुट्ने बस दिनभरमा १५ वटासम्म निस्कने गरे पनि यात्रु नपाइएको हो ।
कोरोना सङ्क्रमणको भय झन् बढ्दै जाँदा सार्वजनिक यातायातमा यात्रा गर्नेको सङ्ख्या झन् घट्दो क्रममा रहेको दाबी व्यवसायीको छ । बसपार्कमै यात्रु नआउँदा बाटोमा भेटिएका मात्रै उठाउनु पर्ने बाध्यता रहेको धमलाले गुनासो गर्नुभयो ।

सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक तीन सयदेखि साढे तीन सय बस लामो तथा छोटो दूरीका लागि छुट्ने गरेको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का प्रदेश १ संयोजक किशोर धमलाले जानकारी दिनुभयो । ती बसमा कार्यरत मजदुरले बन्दाबन्दी खुल्दा पनि आफ्नो रोजीरोटीको सुरक्षा गर्ने अवस्था नदेखिएको उहाँको भनाइ छ ।

पूर्ण रूपमा सामान्य अवस्था नहुँदासम्म यात्रु आउन सक्ने सम्भावना नरहेकोले व्यवसायीलाई अझै चिन्ता बढाएको यातायात महासङ्घ मोरङका अध्यक्ष राजन कँडेलको भनाइ छ । यातायात क्षेत्र तङ्ग्रिन अझै एक वर्ष लाग्ने बताउँदै कँडेलले राष्ट्र बैङ्कको मौद्रिक नीतिले केही राहत दिएको भए पनि सङ्क्रमण बढ्दै गए यो क्षेत्र उठ्न सक्ने सम्भावना नरहेको जनाउनुभयो ।

अहिले व्यवसायीले छुट्ने र पुग्ने जिल्लाको स्थानीय प्रशासनको अनुमति र जानकारी लिएर सवारी साधन चलाउँदै आएका छन् । तीस जना यात्रु क्षमता रहेको बसमा १५ जना मात्रै यात्रु राख्न पाउने प्रावधान तोकिएको छ तर तोकिएको सङ्ख्याका यात्रुसमेत अहिलेसम्म छुटेका कुनै गाडीले नपाएको महासङ्घका अध्यक्ष कँडेलको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *